घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २२ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका विभिन्न चार स्थानमा पुल निर्माण गर्ने उद्देश्यले प्राविधिक सर्वे सम्पन्न गरिएको छ । स्थानीय पूर्वाधार विकास विभाग तथा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलको प्राविधिक टोलीले सम्भावित पुल निर्माणस्थलको स्थलगत अध्ययन गर्दै आवश्यक विवरण संकलन गरेको हो ।
पुल निर्माणका लागि विजयनगर गाउँपालिकाको नौरंगिया-अमृतडिहवा जोड्ने चरगंहवा नदी, देवीपुर विशवा घोला, देवीपुर लोनिया टोलदेखि नौरंगिया जोड्ने विशवा घोला तथा पत्थरदेइयादेखि परसोहिया जोड्ने भटनी घोलामा प्राविधिक सर्वे गरिएको हो ।
टोलीले सम्भावित पुल निर्माणका लागि स्थानीय बासिन्दासँग आवश्यक जानकारी संकलन गर्नुका साथै नदी तथा घोलाको अवस्था, आवतजावतको आवश्यकता र प्राविधिक पक्षको स्थलगत अध्ययन गरेको छ ।
सर्वेका क्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, उप-प्रमुख रमेश कुर्मी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमान, वडा नम्बर ७ का अध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नम्बर ३ का अध्यक्ष हृदय विकास चौधरी, जिल्ला समन्वय समितिका अधिकारी जनार्दन अधिकारीको उपस्थिति रहेको थियो ।
प्राविधिक सर्वे इन्जिनियर नेवल चौधरी, दुर्गा राई, आस्था अधिकारी र सृजन राना मगरसहितको टोलीले गरेको हो ।
स्थानीयवासीले प्रस्तावित पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने आवागमनको समस्या समाधान हुनुका साथै गाउँ-बस्तीबीचको यातायात, शिक्षा, स्वास्थ्य तथा कृषि उपज ढुवानीमा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया