डलर सटहीको नाममा लुट्ने गिरोह समातियो

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएपछि ललितपुरका दिपेश गुरुङले सुनका गहना जोडजाम गरेका थिए । कोरोना महामारीका कारण फुर्सदिलो भएका उनले सिक्री लगाएका तस्वीरहरु फेसबुकमा अपलोड गरे ।

त्यसको केही समयमै अस्वभाविक रुपमा एक महिलाको सम्पर्कमा पुगेकी पर्दा उनले ३ लाख रुपैयाँ गुमाएका छन् । ‘एक महिनाबाट फेसबुकमा कुराकानी भइरहेको थियो, भेट्न आएपछि विश्वास गरेँ’ प्रहरीसँगको बयानमा उनले भनेका छन् ।

अनुसन्धान अधिकृतका अनुसार गुरुङसँग भेट्ने टुंगो लागेपछि छद्म नाममा फेसबुकमा सक्रिय ती महिला बसपार्कसम्म आइन् । कुराकानीका क्रममा उनले लकडाउनका कारण जागिर गएपछि आफू समस्यामा परेको सुनाइन् । कुराकानीकै क्रममा सिन्धुपाल्चोकको गाउँमा रहेका दाइले भूकम्प गएका वेला खाल्डोमुनीबाट डलरको बिटो भेट्टाएको भन्दै दिपेशलाई सटहीको अफर गरिन् ।

‘दाइलाई डलरबारे धेरै थाहा पनि छैन, सस्तैमा बेच्छु भन्दै थिए’, महिलाले भनेकी थिइन्, ‘१५ हजार डलर ५ लाख रुपैयाँसम्ममा दिनुहुन्छ ।’ यति सुन्ने वित्तिकै गुरुङ हिसाब निकाल्नतिर लागे । जसअनुसार ११७.९८ रुपैयाँको दरले ५ लाखमा किनेको डलर साट्दा १७ लाख ६९ हजार ७ सय २८.५० रुपैयाँ हुन्थ्यो ।

‘क्षणभएमै १२ लाख बढी फाइदा हुन्छ भने किन नकिन्नु भन्ने लाग्यो’, गुरुङले प्रहरीसँग भनेका छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पूर्वयोजना अनुसार गुरुङ ३ लाख रुपैयाँ बोकेर ८ साउनमा युवतीलाई भेट्न भक्तपुरको बोडेसम्म पुगे । पूरा पैसा जुटाउन नसकेकाले तीन लाख मात्र लिएर गएको उनले बतँएका छन् । उनलाई तोकिएको स्थान परिवर्तन गरेर उनीलाई खुला ठाउँमा बोलाइयो, जहाँ अर्का एकजना पुरुष झोलामा कपडाले पोको पारेर डलर लिएर बसेका थिए ।

‘रकम दिएपछि उनले झोला दिए तर, उनीहरुले दिएको पोको कसिलो थियो कि खोल्नै समय लाग्यो’, भक्तपुर प्रहरीका निरीक्षक सुवास बुढाथोकीले अनलाइनखबरसँग भने, ‘त्यहीबेला महिला र डलर बोकेका पुरुष त्यहाँबाट निस्किए ।’ जब गुरुङले पोका खोलेर हेरे, डलर होइन, कागजको बिटो भेटे । त्यसपछि आफू लुटिएको भन्दै प्रहरीमा उजुरी दिएको बुढाथोकी बताउँछन् ।

०००

‘दाइ, म सञ्जिव । तपाईंको पसलबाट एक वर्षअघिसम्म कपडा लगिराख्थे नि Û’ थिमीका एक कपडा पसल सञ्चालकलाई भदौ तेस्रो साता अपरिचित व्यक्तिले फोन गरेर भने ।

आवाजबाट नचिने पनि ग्राहक भनेपछि चिने जस्तो गर्नै पर्‍यो ! उनले भाइ भनेर सम्बोधन गर्दै कुरा गरे । दोस्रो पटकको कुराकानीमा उनले अघिल्लो घटनामा जस्तै सिन्धुपाल्चोकको प्रसंग सुनाए । तर यसपटक भने गाउँका एक जना सोझो दाइ ट्रेकिङ गाइड भएको सुनाउँदै उनीसँग डलरको बिटो भएको बताए ।

घुम्न आएको खैरेको मृत्यु भइसकेपछि पैसाको बिटो उनी कहाँ आइपुगेको भनिएको थियो । तीन दिनको सम्वादपछि उनी चार लाख रुपैयाँ दिएर डलर लिन तयार भए । तर १९ साउनमा डलर लिनका लागि भेट्दा उनी छाँगाबाट खसेझैँ भए ।

उनलाई सुरुमै डलर अवैध भएकाले प्रहरीले थाहा पाए समात्ने हुँदा चाँडै काम सक्नु पर्ने भनिएको थियो । डलर पाको पाउने वित्तिकै उनी चार लाख रुपैयाँको बिटो जिम्मा लगाएर फर्किए । तर पोको खोलेर हेर्दा कागज मात्र भेटियो ।

०००

रोल्पाका ५७ वर्षीय मन्सुर घर्ती मगरको ललितपुरस्थित किराना पसलमा एक जना अधवैंशे भदौ अन्तिम सातातिर हरेक दिन जसो धाइरहेका थिए । कहिले चुरोट खान्थे, कहिले चिसो ।

मगरसँग सामान्य कुराकानी पनि भइरहेको थियो । नियमित आउने ग्राहकसँग भलाकुसारी गर्नु स्वभाविक थियो । केही दिनपछि तिनै ग्राहकले एउटा फाइदाजनक अफर सुनाए ।अरु घटनाझैँ सिन्धुपाल्चोकमा भूकम्प जाँदा जमिनमुनि डलरको पोको फेला पारेको बताउँदै किन्न सके धेरै फाइदा हुने सुनाए ।

मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी छोरीलाई यो सुनाए । बुबाले भनेपछि उनले पनि अविश्वास गर्नुपर्ने कुनै ठाउँ देखिनन् । सल्लाह अनुसार बुबाछोरी ९ लाख ८० हजार रुपैयाँ बोकेर ६ असोजमा डलरको पोको लिन भक्तपुरको बोडे पुगे । डलरको पोको र पैसा साटे ।

तर उनीहरुसँग छुटि्टएका बाबुछोरीले पोको खोलेर हेर्दाभित्र डलर होइन, कागज मात्र थियो ।

०००

टोखा नगरपालिकाका एक जग्गा कारोबारीलाई यही समूहले तीन वर्षअघि मालपोत कार्यालयमा भेटेको सुनाए । ‘फोनमा जग्गा किन्नुपर्ने छ, दिव्यश्वरी टाउन प्लानिङमा छु भनेपछि उनी भेट्न गए’, इन्स्पेक्टर बुढाथोकी भन्छन्, ‘भेटेको केही दिनपछि उही डलरको प्रस्तावलाई राखेछन् ।’

प्रहरीको भनाइ अनुसार उनी पैसामा लोभिए पनि ती व्यक्तिलाई पूर्ण रुपमा विश्वास गरेको भने देखिँदैन । त्यसैले अन्तिम खरिदविक्री हुन अघि ३० भदौमा कौशलटारमा भेटेर ५० डलरको नोट किनेर मनी एक्सचेन्जरमा साट्न गए । ‘एक्सचेन्जरले साटेपछि डलर नक्कली होइन भन्नेभयो’, बुढाथोकीले भने, ‘त र३१ भदौमा ५ लाख दिएर हात पारेको पोकोमा कागज मात्र थियो ।’

०००

पोर्चुगलबाट आएका सुदर्शन थापा पनि यही शैलीमा लुटिएको पाइएको छ । मोरङमा रहेको ससुरालीमार्फत सम्पर्कमा आएका व्यक्तिले उनलाई ८ असोजमा बालकोट बोलाएका थिए । सस्तोमा डलर पाउने भएपछि उनी भेट्न पुगे । १८ हजार डलर लिन ८ लाख रुपैयाँ बुझाएका उनी पनि कागजको बिटोमा परे ।

०००

भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार एउटै शैलीबाट सर्वसाधारण लुटिएको घटना निरन्तर आउन थालेपछि प्रहरीले यसबारे अनुसन्धान थालेको थियो । त्यसक्रममा सिन्धुपाल्चोकका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ पक्राउ परेका छन् । यो गिरोहमा संलग्न अधिकांश बाह्रविसे नगरपालिका वडा नं. ३ र ६ का छन् । थापाका अनुसार डलर साट्ने वेलामा दृश्यमा दुईजना देखिएर अन्य व्यक्तिलाई रेकी गर्न बस्ने गरेको पाइएको छ ।

‘यो गिरोहले संगठित रुपमा लुटपाट गरेको पाइएको छ’, थापा भन्छिन्, ‘यसमा संलग्न अन्यको खोजी भइरहेको छ ।’ उनका अनुसार गिरोहबारे समाचार आएपछि ११ र २७ लाख रुपैयाँ ठगिएको भन्दै दुईजना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । र, हालसम्म ५४ लाख ठगिएको उजुरी परिसकेको छ ।

एसपी थापा भन्छिन्, यसरी बाहिर डलर साट्नु कानून विपरित हो । यसरी साट्दा ठगिने भएकाले वश्वास गर्नै हुँदैन । अन्य कोही व्यक्ति पनि यसरी ठगीमा परेको भए सम्पर्क गर्नुहोला, यही गिरोहका सदस्य पनि त्यसमा संलग्न हुनसक्छन् ।’

पक्राउ परेकाहरुबाट बरामद भएका सामानहरु ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP