Trending
राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

पर्वत : गण्डकी प्रदेशमा आत्महत्या चुनौतीका रूपमा देखिएको छ। प्रहरीको तथ्याङ्क हेर्ने भने विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार वि.क.का अनुसार गण्डकी प्रदेशमा गत आर्थिक ०७७/०७८ मा ६ सय ६१ जनाले आत्महत्या गरेका छन्। तीमध्येका ६० प्रतिशत अर्थात् ३ सय ९६ जना पुरुष र ४० प्रतिशत अर्थात् २ सय ६५ जना महिला रहेका छन्।

सबैभन्दा बढी कास्की जिल्लामा ६२ महिला र ९५ पुरुष गरी एक वर्षको अवधिमा १ सय ५७ जनाले आत्महत्या गरेका छन् भने सबैभन्दा कम मनाङमा दुई पुरुषले ज्यान फालेका छन्।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ४४ महिला र ५७ पुरुष गरी १ सय १ जनाले, तनहुँमा ३६ महिला र ५३ पुरुष गरी ८९ जनाले, स्याङ्जामा ३३ महिला र ५४ पुरुष गरी ८७ जनाले, गोरखामा ३३ महिला र ४६ पुरुष गरी ७९ जनाले, बागलुङमा १७ महिला र २२ पुरुष गरी ३९ जनाले, लमजुङमा १८ महिला र १९ पुरुष गरी ३७ जनाले, पर्वतमा १२ महिला र २५ पुरुष गरी ३७ जनाले, म्याग्दीमा नौ महिला र २१ पुरुष गरी ३० जनाले तथा मुस्ताङमा एक महिला र दुई पुरुष गरी तीनजनाले आत्महत्या गरेका छन्।

डिएसपी वि.क.का अनुसार आत्महत्या गर्नमा सबैभन्दा बढी प्रयोग हुने विधिको रूपमा झुन्डिनु देखिएको छ। ६ सय ६१ जनामध्ये ५ सय ७० जनाले झुन्डिएर, ४२ जनाले विष खाएर, २९ जनाले हाम फालेर, १६ जनाले दुरुत्साहनमा परेर, एकजनाले औजार प्रयोग गरेर, एकजनाले एसिड सेवन गरेर र एकजनाले आत्मदाह गरी आत्महत्या गरेका छन्।

वैवाहिक अवस्थालाई हेर्दा अविवाहितभन्दा विवाहितको संख्या धेरै छ। कुलमध्येका ६८ प्रतिशत अर्थात् १ सय ७० महिला र २ सय ८० पुरुष गरी ४ सय ५० जना विवाहित छन् भने ३२ प्रतिशत अर्थात् ९५ महिला र १ सय १६ पुरुष गरी १ सय ११ जना अविवाहित रहेका छन्।​

किन हुन्छन् आत्महत्या?

विभिन्न अनुसन्धानका अनुसार दुःख, घृणा, आफू बाँच्न उपयुक्त नभएको, आफू दोषी भएको, क्रोध, बदला, अरूका लागि भार हुनु, जीवनको मूल्य नदेख्नु, नराम्रो अवस्थामा फस्नु, सोचेको पूरा नहुनु‚ शारीरिक तथा संवेगात्मक पीडा र प्रेममा हुने खटपट आत्महत्याका सम्भावित कारणका रूपमा देखिएका छन्।

यस्तै‚ दुर्व्यसन वा भेदभाव, सम्बन्ध समाप्ति, सम्बन्ध विच्छेद, बेरोजगारी, घरबारविहीन, महँगा उपचार सेवा, आर्थिक सङ्कट, जेल जीवन, गर्भधारण वा बाँझोपन, यौन सम्बन्ध, जबरजस्ती तथा बाल उमेरमा गरिने विवाह, शारीरिक तथा संवेगात्मक पीर लगायत आत्महत्याका सम्भावित कारण हुन्।​

को रहन्छन् आत्महत्याको जोखिममा ?

नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले अमेरिकामा गरेको सर्वेक्षणमा १५–२४ वर्ष उमेर समूह बढी जोखिममा हुने भनी देखाएको छ। नेपालको सन्दर्भमा भने यो फरक हुन सक्छ। माथि उल्लेख गरिएको गण्डकी प्रदेशको तथ्याङ्कमा ६८ प्रतिशत आत्महत्या विवाहितले गरेका छन्, सामान्यतः उनीहरूको उमेर २० वर्षभन्दा माथि रहने गर्दछ।

यस्तै ६० वर्षभन्दा माथिको उमेर समूह, मानसिक समस्यामा रहेका व्यक्ति, लागू पदार्थ दुर्व्यसनी, वंशाणुगत रूपमा हुँदै आएका मानसिक असन्तुलन तथा लागूपदार्थको सेवन, परिवारका अन्य सदस्यले विगतमा गरेका आत्महत्या, परिवारभित्रै हुने अपराध, हिंसा तथा शारीरिक, यौनिक तथा मनोवैज्ञानिक हिंसा, कैदी जीवन, संक्रामक रोगबाट सङ्क्रमितहरू, हातहतियारको नजिकमा रहेकाहरू पनि बढी जोखिममा रहेका हुन्छन्। यस्तै सामाजिक रूपमा एक्लो पारिएका, गलत मानसिक उपचार पाएका तथा उपचार नै नपाएकाहरूले पनि आत्महत्या गर्न सक्ने मनोविद्‌हरू बताउँछन्।

महिलाभन्दा पुरुष जोखिममा

महिलाको तुलनामा आत्महत्या गर्नेमा बढी पुरुष देखिन्छन् तर आत्महत्या प्रयास गर्नेमा भने महिलाको संख्या धेरै रहेको केही अनुसन्धानका प्रतिवेदनमा उल्लेख छ।

आत्महत्याको प्रयास भएकै वेला भएका उद्धारमा महिलालाई केही हदसम्म बचाउन सकिए पनि पुरुषलाई कठिन देखिएका तथ्य छन्। नेपाली समाजमा सामाजिक तथा पारिवारिक बोझ पुरुषले नै बढी थाम्ने गरेका कारण सामाजिक तथा पारिवारिक  समस्या आइहालेमा पुरुषले उत्ति वेलै ज्यान जाने कडा खालको आत्महत्या गर्ने गरेको पाइएको छ।​

आत्महत्या र मानसिक स्वास्थ्य

‘सुसाइड अवेयरनेस भोइसेस अफ एजुकेशन’ को अनुसन्धानले आत्महत्यामा सबैभन्दा महत्त्व राख्ने विषय व्यक्तिको मानसिक अवस्था भएको उल्लेख छ र ९० प्रतिशत घटनाको कारण मानसिक स्वास्थ्य अवस्थाको आधारमा भएको उल्लेख छ। जसमा लागूपदार्थ दुर्व्यसन, डिप्रेसन, उच्च संवेग तथा कठिनाइमा भएको अवस्था, मानसिकता परिवर्तन, दुःखमा आधारित मानसिकता परिवर्तन, अरूले भनेको वा सुनेकै आधारमा मानसिकता परिवर्तन गर्ने समस्या रहनुलाई मानसिक स्वास्थ्यसँग जोडेर हेरिएको छ।

आत्महत्याका संकेत

बाहिरबाट देखेकै आधारमा कसले आत्महत्या गर्दै छ भन्ने थाहा पाउन सकिँदैन। आत्महत्याको जोखिममा रहेका व्यक्तिले केहीसंकेत भने दिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी बताउँछन्।

उनका अनुसार मर्न चाहेका कुरा गर्नेहरू, असह्य पीडामा परेकाहरू, जीवनदेखि निराश भएका, आफूलाई फसाइएको भनी कुरा गर्नेहरू, आफू अरूका लागि बोझ भएको कुरा गर्नेहरू, आत्महत्याको बारेमा जान्न बुझ्न खोजेका व्यक्तिहरू, मरणपछिका कुरा गर्नेहरू, परिवार र साथीसँग बस्न मन नपराउनेहरू, अधिकांश समय लागूपदार्थ र मादक पदार्थ सेवन गर्न लागेकाहरू, सामान्य अवस्थाको भन्दा बढी खाने तथा बढी सुत्नेहरू, पीडामा भएको अवस्था देखिनेहरू व्यक्ति आत्महत्याको जोखिममा हुने गर्छन्।

आत्महत्याबारे खुलेर कुरा गरौँ

अहिले पनि समाजमा आत्महत्याका बारेमा कुराकानी गर्ने हो भने आत्महत्या झनै बढ्छ भन्ने कुरामा विश्वास गर्नेहरूको कमी नभएकाले चेतनाको स्तर आवश्यकताअनुसार फैलिन नसकेको डिएसपी बुढाथोकी बताउँछन्।

‘आत्महत्याको बारेमा कुरा नगर्ने भन्ने होइन‚ झन् बढी कुरा गरेर सचेतना फैलाउनुपर्छ। कुरा गर्दैमा आत्महत्या बढ्ने होइन, बरु सचेतना फैलाउँछ’‚ उनले भने, ‘सामाजिक सञ्जालको तीव्र विकास, जङ्क फुडको सेवनका कारण सानै उमेरमा आउने शारीरिक तथा मानसिक परिवर्तन, सिनियरहरूले गरिरहेको कामको सिकाइ लगायतका कारण आत्महत्या प्रमुख सामाजिक समस्याका रूपमा स्थापित भएको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP