१२ घण्टामा विद्युतीय मतदान, चार घण्टामा परिणाम

काठमाडौँ — नवौं महाधिवेशनमा अन्तिम समयमा विवादका कारण इलेक्ट्रनिक भोटिङ (ई–भोटिङ) रोकेको नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनोटमा इलेक्ट्रोनिक भेटिङ मेसिन (ई–भीएम)को प्रयोग गर्ने भएको छ । चुनाव परिणाम चाँडो आउने, विवादरहित र खर्च कम हुने ठानेर एमालेले पहिलोपटक ई–भीएम प्रयोग गर्न लागेको हो । एमालेको गत नवौं महाधिवेशनमा मतपत्रको प्रयोग गरेर मतदान हुँदा अन्तिम परिणाम आउन एक साताभन्दा बढी समय लागेको थियो ।

ई–भोटिङ प्रयोग गर्दा सबै प्रतिनिधिहरूले मतदानका लागि कम्तीमा १२ घण्टा लाग्ने र मतदान सकिएको चार घण्टापछि अन्तिम परिणाम आउने प्राविधिकहरूको भनाइ छ ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा २ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने छ । जसका लागि सय वटा मेसिनको प्रयोग हुने छ ।

एमालेले महाधिवेशनको निर्वाचन गराउनका लागि ई–भीएम र त्यसको व्यवस्थापनका लागि ‘राम– लक्ष्मण इनोभेसन्स’सँग ५६ लाख ५० हजार रुपैयाँको सम्झौता गरेको छ ।

‘एक जना प्रतिनिधिले औसतमा मतदान गर्न ३० मिनेट लगाउनु होला भन्ने अनुमान गरेका छौं’, इनोभेसन्सका लक्ष्मण रिमालले भने, ‘२ हजार प्रतिनिधिले १२ घण्टामा मतदान गर्नु हुनेछ र चुनाव सकिएको ४ घण्टाभित्र नतिजा सार्वजनिक गर्नेछौं ।’ तर चुनावी प्रतिस्पर्धामा कति उम्मेदवार हुन्छन् भन्ने विषयले पनि समय थपघट हुने रिमालले बताए ।

दसौं राष्ट्रिय महाधिवेशनमा २ हजारभन्दा बढी प्रतिनिधिहरूले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी र अनुशासन तथा लेखा आयोगका ३० जना गरी कुल २ सय ५५ जनाका लागि मतदान हुनेछ । एमालेका लागि भनेर सो संस्थाले ७० वटा थप नयाँ ई–भीएम थपेको रिमालले बताए । एउटा मेसिनको एक लाख रुपैया पर्छ । ‘८ सय उम्मेदवारसम्मको मतदान सञ्चालन गर्नसक्ने क्षमता छ,’ रिमालले भने, ‘हामीलाई करिब ५ सय उम्मेदवार हुनसक्ने जानकारी गराउनु भएको छ ।’

रिमालकाअनुसार एक सय वटा मेसिनमध्ये ९२ वटा मतदानका लागि प्रयोग हुनेछन् । कुनै मेसिन बिग्रेमा त्यसको सट्टामा प्रयोग गर्न थप ५ वटा रहनेछन् । ३ वटा मतदानस्थलमा अभ्यास लागि प्रयोग राखिनेछ ।

‘मतदानका लागि एउटै लाइन हुनेछ तर एकैपटक ९२ जनाले मतदानमा सहभागी हुन पाउनु हुनेछ,’ रिमालले भने, ‘हामीले मतदान हुने चितवनको स्थलको समेत हेरेर फर्किसकेका छौं ।’ रिमालले एमाले महाधिवेशनको ई–भोटिङ मेसिन र त्यसको व्यवस्थापनसहितको सबै जिम्मेवारी लिएको बताए ।

‘अहिले केन्द्रीय कार्यालयमा मेसिनमा अभ्यास गराउने काम भइरहेको छ । महाधिवेशनको ई–भोटिङ र त्यसको व्यवस्थापनसहिको जिम्मेवारी प्राप्त गरेका छौं’ रिमालले भने,‘महाधिवेशनमा चुनावी प्रक्रिया संचालन र व्यवस्थापनका लागि ४० जनाको टिम परिचालन हुनेछ ।’

नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि मतपत्रको प्रयोग गरिएको थियो । चुनावी परिणाम आउन एक साता लागेको थियो ।

रिमालले मतदातालाई भोट दिन सहज हुने गरी तयारी भएको बताए । ‘उम्मेदवारको फोटो आउने, सिरियल नम्बर र नाम आउने गरी हुन्छ’ रिमालले भने, ‘स्क्रिनमा छुने बित्तिकै मतदान हुन्छ । कसैलाई मत दिएपछि मन लागेन रद्द गरौं भने पनि मतदाताले गर्नसक्नु हुन्छ ।’ एमाले केन्द्रीय कार्यालय थापाथलीमा २२ गतेदेखि नै दैनिक रुपमा मेसिनमा अभ्यासको काम भइरहेको छ । ‘कसरी मतदान गर्ने भनेर भिडियो पनि बनाएका छौं । त्यो हेरर पनि अभ्यास गर्न सकिन्छ’ रिमालले भने, ‘यो सिम्पल छ, कुनै गार्‍हो छैन ।’

हालसम्म विभिन्न संघसंस्था, राजनीतिक दल, तीनका भ्रातृ संगठनको गरि ९२ वटा निर्वाचन ई–भीएमको प्रयोग भएको रिमालले बताए । ‘कसैमा पनि कुनै गुनासो र समस्या आएको छैन’ रिमालको दाबी छ, ’राप्रपाका २ वटा महाधिवेशनबाट नेतृत्व छनोट पनि हाम्रो मेसिन प्रयोग गरेर भएको हो । यो अझै सोफेस्टिकेटेट बन्दै गएको छ ।’

राप्रपाको महाधिवेशनमा एक पटक २८ सय र अर्को पटक ३४ सय प्रतिनिधिहरू मतदानमा भाग लिएका थिए । त्यसैगरी कांग्रेसका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल महिला संघले पनि यो मेसिन प्रयोग गरेका थिए । ‘करिब १० हजार सदस्य रहेको राष्ट्रिय सहकारी बैंकको नेतृत्व छनोटमा पनि हाम्रै मेसिनको प्रयोग भएको हो’ रिमालले भने,’नेविसंघमा मतदाताको संख्या कम भएपनि धेरैलाई छान्नुपर्ने एमालेको जस्तै अलि जटिल प्रकारको थियो । धेरै प्रकारको क्याटेगोरीको थियो ।’

मतको विषयमा कुनै विवाद भयो भने कुन समयमा कसले मत पायो भन्ने मात्रै नभएर कुनै पनि मतदाताको मतपत्र छुट्टै ब्याक अपको रुपमा रहने व्यवस्था भएको रिमालले बताए ।

‘सबै मतदाताको मतपत्र कागजमा पनि आउने व्यवस्था हामीसँग छ तर मत दिएपछि मतपत्र प्रिन्ट गर्ने हो भने ३–४ मिनेट थप समय त्यसमा लाग्छ’ रिमालले भने, ‘तर त्यस्तो मतपत्र ३ मिटर जति लामो हुन्छ । त्यसैले कुन मेसिनबाट कति मत कसले प्राप्त गर्‍यो भने फरक फरक प्रिन्ट गरेर निकाल्छौं । प्रत्येक मेसिनले परिणामको क्युआर कोड जेनेरेट गर्छ । त्यसले पनि चाँडो गराउँछ ।’

सबै मेसिनको आइसोलेट हुने त्यसको छुट्टै एसडी (स्क्यान डिक्स) कार्डमा पनि संग्रहित हुने व्यवस्था गरिएको छ । ‘त्यो एसडी कार्ड आफ्नै कम्प्युटरमा पनि जोड्न सकिन्छ’ उनले भने ।

रिमालले उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त गरेको १४ घण्टाभित्र मतदानको शुरु गर्ने व्यवस्थापन गर्न सकिने बताए । ‘त्यो १४ घण्टामा उम्मेदवारको फोटो तयार पार्छौं । त्यसैअनुसार क्रम मिलाउँछौं, मेसिनमा हार्ल्छौं’ रिमालले भने, ‘हामीसँग सबैलाई नेटवर्कबाट हाल्न मिल्ने थियो । नेटवर्कमा जोडेपछि सेक्युरिटीको कुरा पनि आउने भयो । त्यो भएर प्रत्येक मेसिनमा एक एक गरेर राख्छौं । त्यसलाई पारदर्शी रुपमा देखाउँछौं ।’

रिमालले हालसम्म निर्वाचनमा कुनै पनि विवाद नआएको र एक पटक मेसिन प्रयोग गरेको संस्थाले अर्को निर्वाचनमा कागजी मतपत्रको प्रयोग नगरेको दाबी गरे । ‘ई–भोटिङ सजिलो भएर उहाँहरूले त्यसलाई प्राथमिकता दिनु भएको हो नि,’ रिमालले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP