
हेटौँडा : मंगलबार बिहान ११ बजे हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्ने खबर गर्याे।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले संयुक्त रुपमा हेटौँडा उपमहानगरपालिकाको घोषणापत्र सार्वजनिक गर्ने भनेपछि सम्वद्ध दलका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मीहरु समयमा नै पुगे।
तर, कार्यक्रम दुई घण्टा ढिलो गरी १ बजे मात्रै सुरु भयो। पाँचवटा दलहरुले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्ने भनेपछि सहभागीहरुले धेरैकुरा अपेक्षा गरेका थिए।
केन्द्रीय नेता स्वास्थ्य मन्त्री विरोध खतिवडा र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँ पनि कार्यक्रममा देखिएपछि सहभागीहरुको अपेक्षा अझै बढेको देखिन्थ्यो।
तर, सार्वजनिक भएको पाँच दलीय गठबन्धनको संयुक्त प्रतिवद्धता पत्रले त्यो अपेक्षालाई छुन समेत सकेन।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सूर्यचन्द्र न्यौपानेले प्रतिवद्धता पत्रमा घोषणा गरिएका कुराहरु पढेर सुनाइ नसक्दै गठबन्धनका कार्यकर्ताहरूले धमाधम उठेर घोषणापत्र आफूहरुले अपेक्षा गरेअनुसार नभएको भन्दै असन्तुष्टि जनाए।
उनीहरुले पाँचवटा दलले बनाएको घोषणापत्रले सामान्य कुरा पनि समेट्न नसकेको भन्दै गठबन्धन हेटौँडा उपमहानगरमा नभई एउटा सानो घेरामा रुमलिएको टिप्पणी गरे। घोषणापत्रमा समेटिनुपर्ने कुनैपनि कुराहरु नसमेटिएको भन्दै गठबन्धनको घोषणापत्र स्कुल पढ्ने बच्चाको जस्तो भएको संज्ञा दिए।
के छ प्रतिवद्धता पत्रमा ?
सत्तासीन दलहरुले संयुक्त रुपमा बनाएर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ठोस योजना र कार्यान्वयन गर्ने आधार समेत उल्लेख गरिएको छैन। सार्वजनिक गरिएकाे प्रतिवद्धता पत्रमा २२ वटा शीर्षकमा ३६ घोषणा समेटिएका छन्।
गठबन्धनले हेटौँडा उपमहानगरपालिकामा निर्वाचित भएमा प्रत्येक महिना १० हजार लिटर खानेपानी निशुल्क वितरण गर्ने घोषणा गरेको छ। केही समय अघि नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा पनि हेटौँडा उपमहानगरपालिकाका नागरिकलाई प्रत्येक महिना १० हजार लिटर पानी निशुल्क वितरण गर्ने उल्लेख गरेको थियो।
त्यसैगरी वार्षिक रुपमा ३०० युनिटसम्म विजुली निशुल्क गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्ने, हेटौँडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, प्रत्येक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने र जेष्ठ तथा अशक्त नागरिकको लागि घर घरमा स्वास्थ्य सेवाको व्यवस्था गरिने घोषणा गरिएको छ।
हरेक वर्ष कम्तिमा ५ जना विद्यार्थीलाई एमबीबीएसको छात्रवृत्तिको व्यवस्था गर्ने, सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मी नर्सको व्यवस्था अनिवार्य गर्ने, औद्योगिक क्षेत्रका लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने घोषणा पनि प्रतिवद्धता पत्रमा गरिएको छ। हेटौँडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाइएको छ।
हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरू प्रतिबद्ध रहेको जनाइएकाे छ।
उपमेयर पदका उम्मेदवार राजेश बानियाँले प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाए। उनले नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जल बिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि बताए।
धार्मिक क्षेत्रहरुको सुधार तथा प्रवर्द्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैँचा बनाउने पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया