
पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पर्वत जिल्लामा हुने कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङका अनुसार शुक्रवार साँझ पोखरामा प्रतियोगिताको औपचारिक उद्घाटन भएपछि असोज २९ गतेदेखि पर्वतमा विभिन्न १९ वटा ‘इभन्ट’ मा खेल हुने छन्। शुक्रवार साँझसम्म कुश्माको बडागाउँमा रहेको प्रतियोगिता स्थल सम्याउनेदेखि सरसफाइ, खेलाडी लड्ने सेमी कभर्ड हलमा ‘फोम’ बिछ्याउने, दर्शक बस्ने ठाउँको व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा हुनेछ।
कराँतेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराँते ५३ औँ राष्ट्रिय कराँते प्रतियोगिता हो। महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभन्ट’ मा खेल हुनेछ। ती ‘इभन्ट’ बाट खेलाडीले ३२ स्वर्ण पदक, ३२ रजत पदक र ६४ वटा कासे पदक गरी कुल १२८ पदक प्राप्त गर्नेछन्।
टिम कुमिते बाहेक तौल समूहमा खेलमा एक ‘इभन्ट’ मा एक सहभागी समूहको एक जना मात्रै खेलाडी सहभागी हुनेछन्। सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह खेलमा सहभागी हुँदै छन्। ती समूहबाट २९० खेलाडीले खेल खेल्दै छन्। उनीहरू सहित रेफ्री, र अफिसियल गरेर गरी झण्डै ६०० जना पर्वत सदरमुकाम कुश्मा भित्रिने छन्।
अधिकांश खेलाडी पोखरा आइपुगेको र शुक्रवार बिहानसम्ममा कुश्मा आइपुग्ने गरी तयारी गरिएको छ। पोखरामा शुक्रबार साँझ हुने बृहत् उद्घाटनमा कराँतेका खेलाडी सहभागी हुन नपाउने भएका छन्। उनीहरूको ‘रिपोर्टिङ’ शुक्रवार नै हुने तथा खेलाडीको तौल परीक्षण पनि शुक्रबारका लागि नै राखिएका कारण कराँतेका खेलाडीहरू शुक्रवार बिहान नै पर्वत आइपुग्ने स्थानीय आयोजक समितिका सचिव राम श्रेष्ठले बताए। शुक्रवार नै खेलको ‘टाई सिट’ तयार पार्नेदेखि रेफ्री, टिम कोच, टिम म्यानेजर, अफिसियल लगायत सम्बन्धित पक्षको संयुक्त बैठक पनि राखिएको छ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको कराँते खेलमा नेपाल पुलिस क्लब पहिलो र सशस्त्र प्रहरी दोस्रो भएका थिए। तर यो पटक प्रदेशका टोली विभागीय टोलीबाट उपाधि खोस्ने तयारीमाछन्। कतिपय प्रदेशमा खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर पनि सिकाइएको थियो। विभागीय टोली पनि साख जोगाउन बलियो कसरत गर्ने छन्।
कराँतेलाई सफल बनाउन नेपाल कराँते महासंघले स्थानीय आयोजक समिति पनि निर्माण गरेको छ। जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङलाई संयोजक तथा राम श्रेष्ठलाई सचिव तोकेर विक्रम श्रेष्ठ, किसा शर्मा, सुशील विक र शंकर गिरीलाई सदस्य बनाइएको छ। यस्तै उक्त समितिले विभिन्न पाँचवटा उपसमिति पनि निर्माण गरेको छ। स्वास्थ्यमा पर्वत अस्पतालको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी, खेल व्यवस्थापनमा किसा शर्मा, अतिथि सत्कार तथा व्यवस्थापनमा राम श्रेष्ठ, भौतिक पूर्वाधारमा बुद्ध चोचांगी छन्।
सुरक्षा उपसमितिको संयोजकका रूपमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई प्रस्ताव गरिएको छ। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिता कात्तिक २ गतेसम्म चल्ने छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया