
पर्वत : पोखरामा जारी २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपअन्तर्गत आज भएको खेलपछि मच्छिन्द्र क्लब प्रतियोगिताबाट बाहिरिएको छ।
क्वार्टर फाइनलअन्तर्गतको दोस्रो खेलमा आज पोखरा रङ्गशालामा भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले मच्छिन्द्रलाई पराजित गरेको हो। योसँगै चर्च ब्वाइज आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मच्छिन्द्र क्लबको गोल पोस्टमा ३ गोल छिराउन सफल भएको चर्च ब्वाइज आकर्षक खेलसहित अन्तिम ४ मा पुगेको हो। फाइनलको यात्रा तय गर्ने लक्ष्यका साथ खेलको तयारीमा रहेको चर्च ब्वाइजले अबको खेल मनाङ मर्स्याङ्दी क्लब वा भुटानिज युथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिकासँग खेल्नु पर्नेछ।
जितका लागि चर्च ब्वाइजका तर्फबाट पहिलो हाफ सकिँदासम्म आशीष चापागाईँले व्यक्तिगत २ गोल गर्दै अग्रता बनाएका थिए। उनले खेलको २२ औँ मिनेट र ४६ औँ मिनेटमा गोल गरे। चापागाईँ ‘बी’ डिभिजन लिगका सर्वाधिक गोलकर्तासमेत हुन्।
२२ औँ मिनेटमा चर्चका बिकु राईको लामो पासलाई पहिले अञ्जन विष्टले हेडिङ गरे पनि गोलरक्षक विशाल श्रेष्ठ जोगाउने प्रयास गरे तर उनको हातबाट बल फुत्किएपछि अवसरमा बदल्दै चापागाईँले गोलमा परिणत गरेका हुन्। चापागाईँको दोस्रो गोलमा आशीष चौधरीले ‘असिष्ट’ गरेका थिए। उनले खेलको ४६ औँ मिनेटमा चौधरीको पासलाई विपक्षी पोस्ट जाली चुमाएका हुन्।
उनले नै खेलको ६४ औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। पेनाल्टी बक्सभित्र पाएको बलमा आशिषले फस्ट बारमा गोल गर्दा मच्छिन्द्रका गोलकिपर विशालको बचाउने प्रयास सफल हुन सकेन। मच्छिन्द्रका सौरभले ८९ औँ मिनेटमा एक गोल फर्काएका थिए।
यसै वर्ष ‘ए’ डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइजले राष्ट्रिय टोलीका खेलाडीलाई समेटेर टोली बनाएको छ। चर्च ब्वाइजले राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट, डिफेन्डर अनन्त तामाङ, एरिक विष्ट, तेज तामाङ, दिनेश राजवंशी लगायतका खेलाडीलाई आहा–रारा पोखरा गोल्डकप हुनु अगाडि क्लबमा आबद्ध गरेको हो।
सेमिफाइनलमा प्रवेश गर्ने अर्को समूह पुस १९ गतेको खेलबाट निधो हुनेछ। उक्त दिन मनाङ मर्स्याङ्दी क्लब र भुटानिज युथ स्पोर्ट्स क्लब मिन्नेसोटा अमेरिकाबीच खेल हुने छ। यो समूहबाट जाने टोलीको सेमिफाइनल खेल पुस २१ गतेका लागि राखिएको छ।
गोल्डकपको फाइनल खेल पुस २३ गते गर्ने गरी ‘टाइसिट’ तयार पारिएको छ।
यस पटकको संस्करणमा पुरस्कार राशिमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रूपैयाँ नगद वृद्धि गरिएको छ।
गत वर्ष विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाएका भए पनि यो संस्करणमा भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ नगद प्राप्त गर्ने भएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया