
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ८ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण कार्यक्रम अन्तर्गतका विभिन्न गतिविधिको स्थलगत अनुगमन गरिएको छ । हेलेन केलर इन्टरनेशनल, आर.डी. नेपाल तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर ४ र ५ मा सञ्चालन गरिएका तरकारी खेती, बाख्रा पालन तथा गँड्यौला मल उत्पादन र स्वास्थ्य चाैकीलाई सहयोग सम्बन्धी गतिविधिको अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, उप-प्रमुख रमेश कुर्मी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष तथा कार्यकारी निर्देशक रविन्द्र सिंह रावत लगायत सहभागी थिए ।
पोषणमार्फत जीवन रूपान्तरण परियोजनाले महिला कृषक समूहलाई तरकारीका बीउ वितरण, असल कृषि अभ्यास सम्बन्धी तालिम, विषादीरहित स्वच्छ अर्ग्यानिक खेती प्रवर्द्धन, प्राङ्गारिक मल उत्पादन तथा प्रयोग, रासायनिक विषादीको विकल्पका रूपमा झोलमल प्रयोग सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी सिँचाई सुविधा विस्तार गर्न स्यालो ट्युबवेल जडान गरी कृषिमा आत्मनिर्भरता बढाउने प्रयास गरिएको छ ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले परियोजनाले ग्रामीण महिलाको आयआर्जन वृद्धि र पोषण सुधारमा उल्लेखनीय योगदान पुर्याएको बताउँदै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउने लक्ष्य अनुसार परियोजनाले सञ्चालन गरेका गतिविधि प्रभावकारी देखिएको उल्लेख गर्दै कृषकलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रविन्द्र सिंह रावतले समुदायको जीवनस्तर सुधार, पोषण अवस्था सुदृढीकरण तथा दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले स्थानीय सरकार र समुदायको सहकार्यले परियोजनाका उपलब्धि थप प्रभावकारी बन्दै गएको बताए ।
अनुगमनका क्रममा टोलीले सञ्चालन गरिएका गतिविधिको अवस्था, उपलब्धी तथा समुदायमा परेको प्रभावबारे जानकारी लिएको थियो । सहभागीहरूले कार्यक्रमले कृषिमा आत्मनिर्भरता बढाउनुका साथै पोषण सुधार र आयआर्जनमा सकारात्मक योगदान पुर्याएको बताएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया