घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ३ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-२ मधवनगरमा रहेको संघर्ष कृषक समूहले आफ्ना जेष्ठ सदस्यप्रति सम्मान प्रकट गर्दै ७० वर्ष उमेर पूरा गरेका चार जना सदस्यलाई सम्मानसहित बिदाई गरेको छ ।
समूहले देवराज पौडेल, उजिरसिंह महतारा, खडक बहादुर केसी र टोपला केसीलाई दोसल्ला ओढाई सम्मानसहित बिदाई गरेको हो । लामो समयदेखि समूहमा आबद्ध रही कृषि क्षेत्रको विकास, समूहको संस्थागत सुदृढीकरण तथा विभिन्न सामाजिक गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको समुहका सह-सचिव खडक बहादुर थापाले बताए ।
बिदाई कार्यक्रममा बोल्दै संघर्ष कृषक समूहका अध्यक्ष बलबहादुर महताराले समूहको स्थापना कालदेखि नै ती सदस्यहरूले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै समूहलाई आजको अवस्थासम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएको बताए । उनीहरूको अनुभव, इमानदारी र समर्पण नयाँ पुस्ताका कृषकका लागि प्रेरणाको स्रोत रहने उल्लेख गर्दै उनले सम्मानपूर्वक बिदाइ गर्न पाउँदा समूह गौरवान्वित भएको बताए ।
यस्तै कार्यक्रममा जेष्ठ सदस्यहरूको योगदानको प्रशंसा गर्दै उनीहरूले समूहमा पुर्याएको सेवा र अनुभव सधैं स्मरणीय रहने समुहकी सदस्य प्रमिला पाैडेलले बताइन् । बिदाई गरिएका सदस्यहरूले पनि आफूहरूलाई सम्मानपूर्वक सम्झिएकोमा समूहप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समूहलाई आवश्यक सहयोग र सुझाव दिइरहने प्रतिबद्धता जनाएका थिए ।
सम्मान र कृतज्ञताको वातावरणमा सम्पन्न कार्यक्रमले ज्येष्ठ सदस्यहरूको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई सम्मान गर्ने गरिएको संघर्ष कृषक समुहले जनाएको छ । कार्यक्रममा समूहका पदाधिकारी, सदस्य तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया