कपिलवस्तु, १ साउन ।
कपिलवस्तु जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा अदालतले प्रहरीलाई शाहलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतको आदेशसँगै प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। उक्त मुद्दाको न्यायिक निरूपण भने अदालतबाट हुने अन्तिम निर्णयपछि मात्र टुंगो लाग्नेछ ।
पक्राउ पुर्जी जारी भएपछि सांसद शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन्। उनले घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्दै आफूलाई योजनाबद्ध रूपमा विवादमा तान्ने प्रयास भएको बताएका छन् ।
शाहले सार्वजनिक गरेको भनाइमा, “मैले कुनै गैरकानुनी कार्य गरेको छैन । नेपालको संविधान, प्रचलित कानुन र स्वतन्त्र न्यायपालिकाप्रति मेरो पूर्ण विश्वास छ । सत्य अन्ततः स्थापित हुन्छ । ‘खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन’ भन्ने नेपाली उखानझैँ सत्यको जित हुनेछ,” उल्लेख गरेका छन् ।
यही घटनासँग सम्बन्धित मुद्दामा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नगर प्रमुख शाहले पनि आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै कानुनी प्रक्रियामा सहयोग गर्ने बताएका छन् । उनले भने, “सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएजस्तो अवस्था होइन । झैझगडा मिलाउन जाँदा उल्टै ममाथि आरोप लगाइएको हो । नियतवस यस घटनामा हामीलाई मुद्दामा फसाइएको छ । हामी कानुन बमोजिम आवश्यक सबै प्रक्रियामा पूर्ण सहयोग गर्छौं र न्यायिक प्रक्रियाबाट सत्य बाहिर आउनेमा विश्वस्त छौं ।”
प्रहरीले अदालतको आदेशअनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ । आरोपित पक्षले आरोप अस्वीकार गरेको अवस्थामा घटनाको यथार्थ र कानुनी जिम्मेवारीबारे अन्तिम निष्कर्ष भने अदालतको फैसला पश्चात् मात्र स्पष्ट हुनेछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया