
कृष्णनगर, ९ असार ।
कपिलवस्तु । भारतसँग जोडिएका कपिलवस्तु जिल्लाका सीमावर्ती क्षेत्रमा वर्षौंदेखि मौलाउँदै आएको चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले आक्रामक अभियान सुरु गरेको छ।२८ नम्बर गण कपिलवस्तुले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल पूर्ण रूपमा एक्सनमा उत्रिएको हो।
सीमाबाट दैनिक रूपमा भइरहेको अवैध ओसारपसार, भन्सार छली तथा तस्करी गतिविधिलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै सशस्त्र प्रहरीले चौबीसै घण्टा निगरानी कडा बनाएको जनाएको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको व्यापक अभियानका क्रममा पछिल्लो २४ घण्टाभित्र मात्रै ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले पुष्टि गरेको छ।
सशस्त्र प्रहरीका अनुसार कृष्णनगर, भिल्मी, हरदौना, मर्यादपुर, चाकाचौडा तथा हथिहवा क्षेत्रलाई केन्द्रमा राखेर भन्सार छली गरेर नेपाल भित्र्याइएका दैनिक उपभोग्य वस्तु, कपडा, किराना सामग्री लगायत विभिन्न अवैध सामान नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।
सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा कुनै कमजोरी सह्य नहुने स्पष्ट पार्दै २८ नम्बर गण कपिलवस्तुले मातहतका सबै युनिटलाई उच्च सतर्कता अपनाउन कडा निर्देशन दिएका छन्। सीमा सुरक्षा, तस्करी नियन्त्रण र गैरकानुनी गतिविधि रोक्नु सशस्त्र प्रहरीको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै “तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन” भन्ने स्पष्ट सन्देश दिएका छन्।
२८ नम्बर गण कपिलवस्तुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई २४ सै घण्टा सक्रिय रूपमा परिचालन गरिएको जानकारी दिए। उनले सीमामा हुने अवैध गतिविधिमाथि निगरानी थप प्रभावकारी बनाइएको र तस्करहरूको सञ्जाल तोड्न निरन्तर अपरेशन चलाइने बताए।
विशेषगरी भारतसँग जोडिएका संवेदनशील नाकाहरूमा अहिले मोटरसाइकल गस्ती, पैदल गस्ती, आकस्मिक चेकिङ तथा रात्रीकालीन निगरानीलाई अत्यन्त कडा बनाइएको छ। सीमाबाट हुने चोरी–तस्करी पूर्ण रूपमा नियन्त्रणमा लिन सशस्त्र प्रहरी रणनीतिक ढंगले परिचालित भएको जनाएको छ।
स्थानीयवासीले समेत पछिल्ला दिनमा सशस्त्र प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको प्रतिक्रिया दिएका छन्। लामो समयदेखि सीमा क्षेत्रमा मौलाउँदै आएको तस्करी नियन्त्रणमा अहिलेको अभियान प्रभावकारी बन्ने विश्वास स्थानीयको छ। उनीहरूले सुरक्षा निकायको यस्तो सक्रियताले सीमाक्षेत्रमा हुने गैरकानुनी कारोबारमा ठूलो असर पर्ने बताएका छन्।
सशस्त्र प्रहरी बलले आगामी दिनमा पनि तस्करी, अवैध ओसारपसार, भन्सार छली तथा सीमाक्षेत्रमा हुने सम्पूर्ण गैरकानुनी गतिविधिविरुद्ध अझ सशक्त र निरन्तर अभियान सञ्चालन गरिने स्पष्ट पारेको छ। सीमा सुरक्षामा कुनै पनि प्रकारको ढिलासुस्ती नगर्ने चेतावनीसहित सशस्त्र प्रहरी अहिले उच्च सतर्कताका साथ मैदानमा उत्रिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया