घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २७ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले विकासकाे अवस्था, लामो समयदेखि पानी नपर्दा कृषि क्षेत्रमा परेको असर, सिँचाईको समस्या तथा सुख्खाका कारण किसानले भोग्नु परेको समस्याबारे प्रदेश सरकारका मन्त्रीहरूलाई जानकारी गराएकाे छ ।
बुधबार विजयनगर गाउँपालिकामा आएका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरी र सामाजिक विकास मन्त्री सन्तोष कुमार पाण्डेलाई गाउँपालिकाकाे समग्र अवस्थाबारे जानकारी गराइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले यस वर्ष लामो समयसम्म वर्षा नहुँदा विजयनगरमा ४० प्रतिशत भन्दा बढी क्षेत्रमा धान रोपाई हुन नसकेको र रोपाई भएका खेतमा समेत धान सुक्न थालेको जानकारी गराए । अब वर्षा भए पनि ढिला भएकाले अपेक्षित उत्पादन हुन नसक्ने अवस्था रहेको भन्दै उनले विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न आग्रह गरे ।
गाउँपालिकाको अवस्थाबारे जानकारी पाएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरीले विजयनगरमा सिँचाइको सम्भाव्यता अध्ययन गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले सुरई खोला र चिरई खोलाबाट लिफ्ट सिँचाइको पहल गर्नुपर्ने तथा सिँचाईको मुख्य मेरुदण्डका रूपमा रहेको राजकुलोको सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
त्यस्तै सामाजिक विकास मन्त्री सन्तोषकुमार पाण्डेले विजयनगर गाउँपालिका-७ मा अलपत्र अवस्थामा रहेको खानेपानी आयोजनालाई व्यवस्थापन तथा सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए । मन्त्रीहरूले कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीलाई विजयनगरको सिँचाइ, कृषि अवस्था, क्षति तथा आवश्यकतासम्बन्धी विवरण मन्त्रालयमा पठाउन आग्रह गरेका छन् ।
विजयनगरको समग्र अवस्थाबारे प्रदेश सांसद जानकी प्रसाद यादव, वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार चौधरी, वडा नं. ६ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान तथा कृषि शाखा प्रमुख राम सुन्दर मालीले समेत मन्त्रीहरूलाई जानकारी गराएका थिए ।
लामो समयसम्म पानी नपर्दा धानबाली प्रभावित भएपछि किसानलाई राहत तथा कृषि क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकारबाट आवश्यक पहल गरिने मन्त्रीहरूले बताएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया