घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २३ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले गरीब, असहाय, विपन्न तथा विपद्मा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बालबालिकाको शिक्षामा पहुँच बढाउने तथा पढाईलाई निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले १ सय जना विद्यार्थीलाई झोला, कपी, ज्यामिति बाकस र पेन्सिल वितरण गरेको हो ।
मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रेनु पाण्डेका अनुसार आर्थिक रूपमा कमजोर, असहाय, विपन्न तथा विपद्को असरमा परेका १ सय जना बालबालिकालाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो सहयोग गरेको बताइन् । उनले शिक्षा बालबालिकाको मौलिक अधिकार भएकाले स्थानीय सरकारले उनीहरूको पठनपाठनमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले शैक्षिक सामग्री वितरणले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह जगाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकारले बालबालिकाको शैक्षिक विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले उपलब्ध गराइएको सामग्रीको सदुपयोग गरी मन लगाएर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे ।
गाउँपालिकाले आगामी दिनमा पनि विपन्न तथा आवश्यकता भएका बालबालिकालाई लक्षित गरी यस्ता सहयोगमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया