काठमाडौं : नाम गजाधर पौडेल। घर प्युठान। पेसा मावि राहत शिक्षक। यतिबेला उनी नुवाकोटमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीका लागि स्वागत गर्दै भेटिन सक्थे। तर, त्यस्तो भएन। उनी हाल माइतीघरदेखि बानेश्वर क्षेत्रमा भेटिन्छन्।
सरकारले लामो समयदेखि अपमान गरेको र आफ्ना मागहरू सहमतिअनुसार अक्षरश: पालना नगरेपछि यतिखेर देशभरका शिक्षकहरू सडक आन्दोलनमा छन्। यही भिडमा भेटिएका पौडेल सुनाउँछन्, ‘सरकारले पटक-पटक हामीलाई अपमान गरेको छ। यस्तो अवस्थामा हामीले आफ्नो अपमानको हिसाब खोज्न आएका हौँ।’
विगतमा पटक-पटक सहमतिको ललिपप देखाएर सरकारले शिक्षक तथा विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको उनको आरोप छ।
‘सरकार विद्यालयहरूमा नयाँ दरबन्दी खोल्दैन। विद्यार्थीहरू एकै वर्षमा एकै विषयका लागि थरिथरिका शिक्षकहरूसँग पढ्नुपर्छ। यस्तो अवस्थामा विद्यार्थीहरूले कसरी राम्रो शिक्षा पाउलान्’, उनी सुनाउँछन्।
‘हामी सामुदायिक तथा सरकारी विद्यालयमा स्तरीय नतिजा भएन भनेर गाली गर्छौं। तर, सरकारले शिक्षकहरूको बारेमा कहिल्यै सोचेन। शिक्षकहरू आफ्नो भविष्य नै अनिश्चित पारेर विद्यार्थीहरूलाई पढाउन बाध्य छन्’, उनी भन्छन्, ‘हाम्रा कठिनाइका बाबजुद पनि विद्यार्थीको भविष्य नबिग्रोस् भन्ने सोच हाम्रो छ। तर, सरकार भने कानमा तेल हालेर बसेपछि टुलुटुलु हेर्न सकिएन।’
राज्यले अपमान गरिरहेकाले अब आफू विदेशिने सोच बनाएको उनले बताए। भन्छन्, ‘नेपालमा बसेर शैक्षिक क्षेत्रमा योगदान गर्ने सोच थियो। अब भने विदेशिने सोच बनाएको छु। तर आउँदो पुस्ताका लागि राम्रो हुन्छ भने आन्दोलनमा किन नआउने? भनेर यसपटक आन्दोलनमा सरिक भएको हुँ’, उनले भने।
यस्तै, प्रदूषणले डेरा जमाएको काठमाडौंको व्यस्त सडक माइतीघर बानेश्वर क्षेत्रमा पसिनाले निथ्रुक्क भएका अर्का शिक्षक भेटिए पाल्पाका नेत्रप्रसाद न्यौपाने। विगत २५ वर्षदेखि प्राध्यापन पेसा गरेर सेवा निवृत्त हुन लागेका उनी राज्यको व्यवहार देख्दा अचम्मित देखिन्छन्।
उनले स्पष्ट रूपमा भने, ‘शिक्षकहरू न्यायका लागि सडकमा आउनुपर्ने यो दिन मैले कहिल्यै कल्पना गरेको थिइनँ।’
यसपालि वार कि पारको अवस्था रहेको उनले सुनाए। शिक्षकहरूको नाजायज माग भए सरकारले पूरा गर्दिनँ भन्नुपर्यो। तर, सधैँ शिक्षण पेसालाई हेपेर सिंगो देशको भविष्यलाई अन्धकारमा धकेल्न नपाउने उनको भनाइ छ।
थाइल्याण्डबाट फर्किने क्रममा प्रधानमन्त्रीले शिक्षकहरूको माग सम्बोधन हुने घर फर्किन आह्वान गरेका थिए। तर, प्रधानमन्त्रीको उक्त भनाइप्रति उनी विश्वस्त छैनन्। ‘प्रधानमन्त्रीले हामीलाई ललिपप देखाउन खोज्ने?’ उनले भने, ‘तिसौँ वर्ष पढाएका शिक्षकहरूलाई सधैँ झुक्याउन सकिन्छ भन्ने मानसिकता हो। यस्तो मानसिकता हटाउँदा हुन्छ।’
समितिमा भएको विधेयक संसद्मा नलगी हिउँदे अधिवेशन अन्त्य गर्ने सरकार शिक्षाप्रति कति गैरजिम्मेवार बन्छ भन्ने प्रमाणित भएको उनले बताए। ‘शिक्षाप्रति यदि सरकार जवाफदेही हुन्थ्यो भने हिउँदे अधिवेशन किन अन्त्य गरेको?’ अहिले कुनै पनि हालतमा हातमा ऐन बोकेर घर फर्किने उनले सुनाए।
हरेकपटक खाली हात घर फर्कन आफ्नै नैतिकताले पनि नदिने उनको भनाइ छ। ६ दिन अगाडि १२ हजार बोकेर काठमाडौं आएका उनी आफन्तकहाँ बसिरहेका छन्।
यद्यपि, आफूहरूले लगानी गर्दा सम्पूर्ण शैक्षिक क्षेत्र सुधार हुन्छ भने यसलाई आफूले ठूलो विषय नमानेको उनले बताए।
बबरमहल चोकको छेउनेरै पानी पिउँदै गरेका भेटिए कैलालीका शिक्षक पदमराज जोशी। ३२ वर्ष अध्यापन गरेका उनले सेवा निवृत्तको समयमा भोक प्यास छोडेर आन्दोलनमा सरिक हुनुपर्दा नमीठो अनुभव बटुलिरहेका छन्।
सरकारको आँखामा पट्टी र कान बहिरो भएका कारण आफ्ना माग पूरा नभएको उनको दाबी छ। सरकारले वार्तामा बोलाएर औपचारिकताको ढोल पिटेको र सहमति कार्यान्वयन नगरी पटक-पटक मिडिया खपत गर्ने काम मात्र गरिरहेको उनको आरोप छ।
आफूहरूले आशा चाहिँ मारिनसकेको उनले बताए। सरकारले शिक्षा विधेयक पास नगरेर अनदेखा गरिरहेको उनले आरोप लगाए। उनले भने, ‘बर्खे अधिवेशनमा पनि विधेयक पारित नै हुन्छ भन्ने कुनै विश्वासको आधार छैन।’
‘अहिले आफूहरू प्रतिनिधिमूलक रूपमा मात्र आएर आन्दोलन गरेको र सरकारले कुनै उपलब्धि दिन नसकेपछि अब अनिश्चितकाल नै शैक्षिक हडतालसहित देशभरका शिक्षकहरूलाई काठमाडौं ल्याउने तयारी गर्छौं’, उनले भने।
शिक्षक महासंघको अभिभावकत्वमा आफूहरूले आन्दोलन गरिरहेको र लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दा आर्थिक रूपमा समस्या भइरहेको उनले बताए। ‘मेरो पो छोराछोरी काठमाडौंमै छन्। म उनीहरूसँगै बसिरहेको छु। धेरै विकट क्षेत्रबाट शिक्षक शिक्षिकाहरू आउनुभएको छ। उहाँहरूलाई ज्यादै अफ्ठेरो स्थिति छ’, उनले भने, ‘कति दिन होटलमा बस्ने हो? टुंगो छैन।’
चर्को घाम, कालो मास्क, ढाकाटोपी लगाएर पर्चा बोकेर अगाडि बढिरहेका पाल्पाका गोविन्द पन्थी पनि विगत ६ दिनदेखि सडक आन्दोलनमै छन्। उनको पनि अन्य शिक्षकको जस्तै गतवर्ष सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग छ।
३१ वर्षदेखि विद्यार्थीहरूलाई पढाएका उनी जीवनको अन्तिममा राज्यसँग लड्नुपर्दा खुसी देखिँदैनन्।
आफ्नो बाली उठ्ने समय भए पनि भावी पुस्ताका लागि आन्दोनलनमा आएको उनले बताए। ‘म त शिक्षण पेसाबाट निस्किने बेला भइसक्यो। मलाई यो आन्दोलनमा आइरहनुपर्ने अवस्था होइन। मैले मेरो जीवन दु:ख सुख बिताइसकेँ। तर, यति भनेर मेरो आफ्नो दायित्व पूरा हुँदैन। आउँदो पुस्ताका लागि अहिले सडकमा पसिना बगाएको हुँ’, उनले भने।
शिक्षकहरूलाई शिक्षकको सम्मानित पेसा राज्यले मान्नुपर्छ। तर धेरै अब्बल युवाहरू शैक्षिक क्षेत्रमा आएर हाम्रो शैक्षिक क्षेत्रलाई अझ राम्रो बनाउनुपर्छ भन्ने मान्यताले आफू यस आन्दोलनमा आएको उनले बताए।
अहिले मिलिजुली सरकार छ। विधेयक पास गर्न पनि असहज छैन। शिक्षा क्षेत्रको समस्याको हल गर्न सरकारले कदम चाल्न नसकेको उनको आरोप छ। शिक्षकहरू न्यायका लागि सडकमा लड्नुपर्ने देशमा समृद्धको टुक्का सुनेर जनता बाँच्न अभिशप्त रहेको उनले बताए।
यिनै शिक्षकहरूले २०८० असोज ३ गतेदेखि सरकारले संसद्मा दर्ता गरेको शिक्षा विधेयकविरूद्ध असन्तुष्टि जनाउँदै काठमाडौं माइतीघर मण्डलामा शक्ति प्रदर्शन गरेका थिए।
गतसाल पनि देशभरका शिक्षकहरूले सामुदायिक विद्यालय नै बन्द गरेर काठमाडौं आएका थिए। झण्डै दुई सातासम्म विरोध प्रदर्शन गरेपछि सरकार बाध्य भएर सहमति गरेको थियो।
शिक्षक र सरकारबीच दुई चरणमा ५ र ६ बुँदे सम्झौता भएका थिए। तर, यी सम्झौता अझै कार्यान्वयनमा नआएको महासंघका अध्यक्ष सुवेदीको भनाइ छ।
त्यसबेला सरकार र नेपाल शिक्षक महासंघबीच नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने, शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने सहमति भएको थियो। माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनका लागि न्यूनतम ५ वर्ष सेवा अवधि कायम गर्नेलगायत सहमति पनि भएका थिए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया