घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ३१ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा व्यावसायिक तरकारी खेतीलाई प्रवर्द्धन गर्न किसान समूहलाई १० ओटा मिनी टिलर वितरण गरिएको छ । सेचेन करुणा नेपालको नेपाल एकीकृत विकास परियोजना अन्तर्गत गाउँपालिकाको वडा नम्बर १ र २ का किसान समूहलाई शतप्रतिशत अनुदानमा ७ हार्सपावर क्षमताका डिजेल इन्जिनयुक्त मिनी टिलर हस्तान्तरण गरिएको सेचेन करुणाका जिल्ला संयोजक हुमलाल अधिकारीले बताए ।
जुनियर प्राेग्राम अफिसर तिलकराम भुसालले परियोजनाका अनुसार कृषि यान्त्रिकीकरणलाई गाउँस्तरसम्म विस्तार गर्दै करेसाबारी र व्यावसायिक तरकारी खेतीलाई सहज, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने उद्देश्यले उपकरण वितरण गरिएको बताए । मिनी टिलरको प्रयोगबाट खेत तयारी छिटो हुने, श्रमको आवश्यकता घट्ने, उत्पादन लागत कम हुने तथा समयमै खेती गर्न सहज हुने विश्वास गरिएको उनकाे भनाई छ ।
मिनी टिलर हस्तान्तरण कार्यक्रममा विजयनगर गाउँपालिकाका कृषि शाखा अधिकृत प्रभुनाथ यादवले आधुनिक कृषि प्रविधिको प्रयोग बिना व्यावसायिक कृषि दिगो बन्न नसक्ने उल्लेख गर्दै किसानलाई उपलब्ध गराइएका उपकरणको संरक्षण गर्दै अधिकतम सदुपयोग गर्न आग्रह गरे । उनले यान्त्रिकीकरणले उत्पादनसँगै किसानको आम्दानी बढाउन पनि टेवा पुग्ने बताए ।
उपकरण प्राप्त गरेका किसानहरूले अब खेतीपातीको काम कम समयमै सम्पन्न गर्न सकिने र श्रम अभावको समस्या समेत केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले यस्ता कार्यक्रमले व्यावसायिक तरकारी खेती विस्तार गर्न थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।
स्थानीय तह र विकास साझेदार संस्थाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमले विजयनगरमा आधुनिक, व्यवसायमुखी र उत्पादनमुखी कृषि प्रणाली विकास गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया