कपिलवस्तु, १ साउन ।
कपिलवस्तु जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि कृष्णनगर र बहादुरगञ्ज क्षेत्रको बजार तथा यातायात सेवा प्रभावित भएको छ । कृष्णनगर र बहादुरगञ्ज क्षेत्रका व्यापारीहरूले बजार तथा यातायात सेवा बन्द गरेका छन् ।
व्यापारीहरूको भनाई अनुसार मुद्दामा सांसद अभिषेकप्रताप शाह र नगरप्रमुख रजत प्रताप शाहलाई मात्र प्रतिवादी बनाइएको विषयमा शंका उत्पन्न भएकाले दुबै पक्षलाई निष्पक्ष रूपमा अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागसहित स्वस्फूर्त रूपमा बजार बन्द गरिएको हो ।
उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि भएको कुटपिट घटनासम्बन्धी ज्यान मार्ने उद्योगको उजुरीका आधारमा जिल्ला अदालतले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। अदालतको आदेशसँगै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ पुर्जी जारी भएपछि सांसद अभिषेकप्रताप शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन् । उनले घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्दै आफूलाई योजनाबद्ध रूपमा विवादमा तान्ने प्रयास भएको बताएका छन् ।
शाहले आफ्नो भनाइमा, “मैले कुनै गैरकानुनी कार्य गरेको छैन। नेपालको संविधान, प्रचलित कानुन र स्वतन्त्र न्यायपालिकाप्रति मेरो पूर्ण विश्वास छ। सत्य अन्ततः स्थापित हुन्छ। ‘खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन’ भन्ने नेपाली उखानझैँ सत्यको जित हुनेछ,” उल्लेख गरेका छन् ।
नगरप्रमुख रजत प्रताप शाहले पनि आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन् । उनले, “सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएजस्तो अवस्था होइन। झैझगडा मिलाउन जाँदा उल्टै ममाथि आरोप लगाइएको हो। नियतवश यस घटनामा हामीलाई मुद्दामा फसाइएको छ। हामी कानुनबमोजिम आवश्यक सबै प्रक्रियामा सहयोग गर्छौं र न्यायिक प्रक्रियाबाट सत्य बाहिर आउनेमा विश्वस्त छौं,” भनेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया